त्यो जमल घटनाले मेरो सार्है नै मन दुखेको थियो । रिसाउनु र मन दुख्नुमा अन्तर हुँदो रहेछ । रिसाउँदाखेरि गाली गरिन्छ भने मन दुख्दा खेरी मौन बसिँदो रहेछ। म पनि मौन थिए त्यसपछी। ३७ दिनसम्म मैले रुबिनासँग बोलिन। कलेजमा कतिपटक जम्काभेट हुन्थ्यो तर म नदेखेजस्तो गरि जान्थे।तिमी पनि वास्ता गर्दिन थियौ। नजिक भएर पनि कति टाढा भएजस्तो लाग्थ्यौ तिमी। यत्तिकैमा समय बित्दै थियो। १२ कक्षाको साथसाथै हाम्रो +2 नि सकिँदै थियो। मेरो कलेज आउने क्रम पातलिँदै थियो।
कलेजको अन्तिम दिन थियो। म त्यो दिन कलेज आएको थिइन। कलेजको आखिरी दिन रुबिनालाइ देखेर म कस्तो रियाक्ट गर्थे होला आफैलाइ थाहा थिएन। म गैन त्यो दिन। त्यो दिन मलाई एकजना मेरो घनिष्ठ साथीको मेसेज आयो अनि यस्तो च्याट भयो ।
"ओए! तँ किन रुबिनासँग बोल्न छोडेको?"
"मलाइ एकदमै तिरस्कार गर्ने मान्छेसँग म किन बोल्नु र?"
"बोल थपक्क ! आज कस्तो रोएकी थिइ तँ बोल्दिनस रे भन्दै।"
एकछिन मनमा एउटा तरङ्गको सिर्जना भयो तर केही नभए जसरी जवाफ फर्काएँ
"रुनु त्यस्को चटक। She is a manipulative bitch."
म भन्न एकथोक भनिरहेको थिएँ तर तिमीले आँसु खसाल्यौ म बोल्दिन भनेर सुन्दा म एकदम भावुक भएँ। आफैँप्रती रिस उठेर आयो। मैले यो के गरेँ? जुन ब्यक्तीलाइ म यति धेरै माया गर्दछु , प्रेम गर्दछु , उसैको आँखामा मैले मेरो कारणले आँसु ल्याउन पुगेँ। म तिमीसँग झगडा गर्थे, जिस्किन्थे , कहिले जानी-जानी नि ठुस्किन्थे तर जे गरे नि तिम्रो आँखामा आँसु मैले कहिल्यै ल्याउन चाहेको थिइन। आजसम्म मेरा आँखाले तिम्रो आँखामा आँसु कहिल्यै देखेको छैन र कहिल्यै देख्न पनि नपरोस। तिमी संसारको त्यो अन्तिम ब्यक्ति हौ जसको आँखामा म आँसु देख्न चाहन्छु। तर मैले तिम्रो आँखामा आँसु ल्याए भन्ने सुन्दा मेरो आँखाको परेली कतिखेर भिजे मैले पत्तै पाइन। हतार हतार गर्दै भाइबर अन गरेर तिमीलाइ मेसेज गरे। त्यतिबेलाको तिम्रो भाइबरको डिपि मलाइ अझै याद छ। Hi भन्दै मेसेज गरेको म एकदमै भावविह्वल भएको थिएँ। म एकदम पश्चतापको आगोमा जलिरहेको थिएँ। मैले माफी मागे तिमीसँग। तिम्रो आँखामा आँसु ल्याउने म माफीको त पटक्कै लायक थिइन। तर तिमी एकदमै उदार ,कोमल हृदयकी थियौ। तिमीले माफी दियौ। तिमी साँच्चै नै महान थियौ नत्र आजकल त एउटा साथी ५-७ दिनसम्मै नबोल्दाखेरी यहाँ थुप्रै घनिष्ठ मित्रताहरू टुट्छन। हाम्रो मित्रता नि पक्कै मेरो मुर्खताको बलि चढ्छ भनी मैले आँकेको थिए तर चढेन। हाँसेको इमोजी पठाउँदै छोडिदे अब यस्ता कुरा बिर्सिदेउ भनेर तिमीले भन्यौ। त्यो दिन मैले आफूले गुमाइसकेको साथी पाए जस्तै लाग्यो तर साथसाथै यो डर पनि कहिल्यै नमेट्टिने गरि पर्मानेन्ट भएर मनमा गड्यो कि मैले आफ्नो प्रेम भावना पोखेको दिन तिमीलाइ सदा-सदाको लागि गुमाउनेछु। मनमनै बाचा गरेँ ,"म तिमीलाइ आफ्नो प्रेम कहिल्यै व्यक्त गरेर तिमीलाइ आफूबाट टाढा गर्ने छैन।"एउटा नयाँ सुरुवात भएको थियो हाम्रो बिच पुराना तिक्तताहरु मेटाएर। तिमी र म त्यसपछी एउटै माइक्रोमा नि गएका थियौँ। सँगै समय बिताउँथिम् पनि साथीझैँ। एक्जामको तयारीमा थिइम हामी दुवै। मेसेज कलहरु भैरहन्थ्यो। पढाइको कुरा गर्दै ठट्टा गर्ने जिस्किने नि गर्थिम। मलाइँ साँच्चै नै म तिम्रो बेस्ट्फ्रेन्ड नै हो जस्तो लाग्न थालेको थियो।
बोर्ड अगाडि कलेजले फेयरवेल दिने गर्दथ्यो। फेयरवेल यति गते हुने भनेर निधो भएको थियो। बिध्यार्थीहरुको तर्फबाट Speech दिनको लागि मेरो नाम अगाडि सारिएको रहेछ। हुन त म बोल्न कहिल्यै नडराउने मान्छे हुँ तर मलाइ त्यहाँ स्पीच दिन डर लागेर आयो। तिमीलाइ त थाह छँदै छ मेरो र अनिताको थप्पड प्रेम कहानी। मैले अनिताको फेयरवेल हुँदा नि स्पीच दिएको थिएँ तर त्यो दिन स्पीचमा सम्बोधन भन्न नपाउँदै म Blank हुन पुगेको थिएँ। केही भन्नै सकिन। अनितासँग नजर जुधेपछी त म त्यहाँ माइकमा केही बोल्न सकेको थिइन। मैले गोजीबाट पेपर निकालेर आफैँले लेखेको स्पीच हेरि-हेरि हात खुट्टा काम्दै भनेको थिएँ। त्यो घटना सम्झिँदै मेरो आङ सिरिङ्ग भएर आयो। त्यहाँ फेयरवेलमा स्पीच दिनुअघी नै मेरो आँखाले तिमीलाइ अवस्य भेट्टाउने थियो। अनितासँगै त त्यस्तो Blank भएको थिएँ भने तिमीसँग त झन मेरो एकदमै गहिरो भावना जोडिएको थियो। मैले तिमीलाइ देखेपछी त्यहाँ स्टेजमा बोल्न सक्नेछैन भन्ने मलाइ लाग्यो। कतै भावनामा बगेर "I love you रुबिना" भने भने?मैले रिस्क लिन चाहिन । तसर्थ जब मलाइ फोन आयो स्पीच दिनु भनेर, मैले बहाना बनाएर आउन नसक्ने बताएँ। म नआएता पनि तिमीले मेरो स्थानमा स्पीच दियौ भनी सुन्दा एकदमै खुशी लाग्यो। त्यो दिन तिमीलाइ कसैले प्रपोज गरेको थियो भन्थ्यौ। के के भन्यो ? र को थियो ब्यक्ती ? त्यो मलाइ कहिल्यै भनिनौ । जान्न त एकदमै मन थियो को रहेछ भनेर तर तिमीले यो कुरालाइ गुप्त राख्न चाहेउ। मैले पनि कर गरिन।
१२ को बोर्ड एक्जाम सकिएको थियो। एकदिनको कुरा हो म आफ्नो पूराना साथीहरुसँग गफिँदै थिए।कुरै-कुरामा तिम्रो कुरा नि निस्कियो।यत्तिकैमा एकजना साथीले भन्यो-"पहिल्यै सुबिनले पट्टाएको रुबिनालाइ। बबाल चलिरहेको छ नि अहिले पनि।" म तीन छक्क परेँ। हुन त मैले पहिल्यै एकपटक हल्ला त सुनेको थिएँ तर बेवास्ता गरेको थिएँ। त्यसमाथी तिमीले मलाइ ११ मा हुँदा एउटा बाचा गरेकी थियौ। तिमीलाइ याद छ कि छैन तर त्यतिबेला मैले तिमीलाइ casually, boyfriend को कुरा निकाल्दा तिमीले भनेकी थियौ,"जुन दिन मैले कसैलाइ Boyfriend बनाउँछु नि ,मैले सुरुमा रिलेसनमा छु है भन्ने मान्छे तिमी हुनेछौ।" मलाइ तिमीले अगाडिबाटै रिलेसन रहेको र मलाइ ढाँटेको भन्ने त कल्पनामा नि सोच्न सक्दिन थिएँ। तर जो ब्यक्तिबाट यो सुनेँ त्यो मेरो बिश्वासपात्र थियो र मलाइ ढाँट्नुपर्ने कुनै कारण थिएन। मलाइ कता कता शंका जागेर आयो। त्यसैले मैले यो कुराको जरैसम्म पुग्ने निधो गरेँ।
तिम्री एउटी साथी थिइ गीता। तिम्रो साथीहरुमध्ये मलाइ सबैभन्दा बढी मज्जाको ,मिलनसार , बुझ्झकी साथी भनेको उही लाग्दथी। मेरो यो तिमीप्रती दबाएको प्रेम-भावनालाइ बुझेर मलाइ सही बाटोमा ल्याउन उत्प्रेरित गर्नेछे भन्ने बिश्वास थियो गीता प्रती। तर थिइ त तिम्रो एकदमै मिल्ने साथी। मैले भन्ने बित्तिकै तिमीलाइ सुनाउँछे कि भन्ने शंका थियो।त्यसैले मैले गीतालाइ भन्दाखेरि मलाइ त रुबिना एकदमै राम्री लाग्छे। कस्ती अप्सरा जस्तै धप्धप् बल्छे। म कत्ती मनपराउँछु भन्दै ३ पाथी हाँसेको इमोजी पठाउँदै Text गर्दथे ताकी यदि तिमीलाइ सुनाइहालेता पनि तिमीले जिस्केको भन्ने पूर्णभास पाउनेथियौ। तिमी र म एकदिन पढ्न बस्दा मैले चिया पकाएर पिउँदै गर्दा तिमीले गीतासँग टेलिफोनमा बोलेको याद छ ? त्यही दिनको १-२ दिनपछी मैले गीतालाइ सुनाएको थिएँ। यसरी गीतालाइ पहिलेबाटै थाहा थियो मेरो भावनाबारे तर तिमीलाइ नसुनाउनु भनेको थिएँ।
मेरो रिसर्च जारी थियो। तिमीसँग सम्बन्धित साथीहरुसामु म कुरा घुमाएर तिम्रो कुरा अगाडि ल्याउँथे अनि सुबिनसँगको सम्बन्धबारे जान्न खोज्दथे तर मैले कहिल्यै पनि सुबिनको नाम भने लिइन किनकी म शंकाको कुनै पनि दायरामा आउन चाहन्न थिएँ। रिसर्चको क्रममा मैले के थाहा पाए भने तिमीले पहिला एकदमै मनपराएकी रहेछौ सुबिनलाइ। तिमीले प्रपोज पनि गरेको थियौ रे तर सुबिनले रिजेक्ट गरेको थियो रे। अनि फेरि लगभग SLC दिने बेलामा सुबिनले तिमीलाइ प्रपोज गरेको थियो र तिमी र सुबिन रिलेसनमा थियौ भन्ने कुरा आयो। मैले सोचेँ सबै मान्छेको आफ्नो एउटा Past हुन्छ।मेरो पनि थियो। तिम्रो नि होला भनी मैले सुरुमा त वास्तै गरिन ।
तर एकदिनको कुरा हो म Instagram चलाइरहेको थिएँ। विभिन्न Stories हरुको बिचमा मैले एउटा स्टोरी देखे। त्यहाँ २ टा फोटो थिए बसन्तपुरको। अचम्म त के थियो भन्दाखेरी तिमी र सुबिन एकैठाउँमा थियौ त्यो फोटोमा। बाँकी दुइजना Love-Birds थिए। ती दुबैजनालाइ म चिन्थे पनि र उनीहरुको कहानी नि मलाइ हल्का थाहा थियो। जब मैले त्यो फोटो देखे मलाइ मनमा यो पर्यो कि सुबिन तिम्रो कुनै Past मात्र होइन Present पनि हो र Future पनि। मैले तिमीलाइ त्यो भन्दा अगाडि कसैसँग त्यसरी Hangout गरेको देखेको थिइन। तिमी त त्यही ब्यक्ति थियौ जसलाइ मसँग ५ मिनेटको माइक्रो यात्रा गर्न नि मन्जुर थिएन। पक्कै पनि कोही केटासँग हिँड्ने,घुम्ने बानी नभएर होला अफ्ट्यारो लागेको हो कि ? भनेर समेत सोच्दथे। मैले रुबिनालाइ सिर्फ एकपल्ट Hang-out गरम भनेको थिएँ । मम खान जमलको Delicious जुम भनेर तर त्यतिबेला उसले प्रस्टैसँग भनेकी थिइ "नाइँ! म जान्न । मलाइ लाज लाग्छ।"त्यसैले मलाइ दोस्रोपटक कतै जुम भनेर तिमीलाइ भन्ने आँट आएन ।
त्यो फोटो देखेसी मलाइ सुबिन तिम्रो Boyfriend हो भन्ने लगभग ८०% थियो। ५ जना वा ३ जनाको Squad मा एक जोडी बिएफ-जीएफ हुनु नौलो हैन तर ४ जनाको Squad मा एक जोडी बिएफ-जिएफ हुँदा २ वटा मात्र कुरा सम्भव थियो : या त बाकिँ २ जना नि जोडी हुन अथवा ती चारैजना जोडी हैनन। तर यहाँ पहिलो कारण अलिक मुनासिब लाग्यो। म दुबिधामा थिएँ।त्यो दिन मैले गीतालाइ Text गरें। के छ हालखबर भनी सोध्दै तिम्रो र सुबिनको सम्बन्ध सम्म सोधेँ। उसले भनी को SLC को बेला रुबिनाले एकदमै मनपराएकी हो। गीताले भनेसी त म १००% हो नै भन्नेमा पुगेँ। मैले थप रिसर्च गरेँ सोसल मिडिया देखि लिएर मेरो जति पनि Link हरु छन सबै मार्फत।सुबिनले नि आफ्नो साथीहरुलाइ रुबिना Girlfriend हो भनी स्वीकारेको रहेछ।फेरि घर-परिवार सबै नजिक। तिमीले नि एकदमै चाहेकी। +2 पनि उसँगै पढ्न खोजेकी। Bachelor त जसरी नि सँगै पढ्ने भन्ने चाहना। दुवै परिवारको यही चाहना। घर-परिवार नजिक हुँदा यस्तै हुने हो। लामो समय सँगै एकै ठाउँ पढ्ने बस्ने अनि निश्चित समय आएसी बिहे गर्ने। तिमी फेरि सुबिनको साथ अत्यन्तै खुसी पनि देखिन्छौ।मैले २ साल तिमीसँगै +2 पढ्दा तिम्रो मुहारमा त्यो खुसी र चमक कहिल्यै देखिन जुन मैले तिमी र सुबिन केही पलको लागि मात्र सँगै हुँदा देखे। पक्कै नै तिमी सुबिनलाइ एकदमै मिस गर्थ्यौ। आखिर साँच्चै प्रेम जो गर्थ्यौ। सानै देखिको प्रेम। तिम्रो लागि "Bestfriend-Boyfriend-Husband" Collinear थियो जसको लाइन केवल सुबिन मार्फत नै जाँदथ्यो। म तिम्रो जीवनमा एउटा Unwanted Parallel line जसरी आफुलाइ देख्न थालेँ। मनमा केवल एउटै प्रश्न थियो? आखिर यो सबै कुरा जान्ने अन्तिम ब्यक्ती म नै किन थिएँ त ?
म बाहेक सबैलाइ थाहा रहेछ त। तिमीसँग २ साल सँगै पढ्दा तिमीसँग boyfriend,love को कुरा नगरेको हैन। मलाइ नै थाहा दिन जरुरी सम्झिनौ तिमीले। तिम्रो बारे हरेक कुरा जान्ने म अन्तिम ब्यक्ति थिएँ। प्रेम भनेको एक पवित्र भावना हो जसले दुई मन जोड्ने गर्दछ। तर यहाँ मेरो प्रेम तिमी र सुबिनको पहिलै देखिको प्रेममा बाधक जस्तो देख्न थालेँ मैले। मलाइ आफैँ अफ्ठ्यारो लाग्न थाल्यो। म बीचमा आउन चाहँदिन थिएँ। त्यसमाथी जुन नजिकपन,प्रेम,खुसी तिमी र सुबिन बिचमा थियो त्यो मसँग थिएन। तुलनात्मक रुपमा हेर्दै नि आकाश-पाताल भन्दा बढी फरक थियो। तिम्रो ड्रीम ब्वाइ सुबिन थियो। मेरो ड्रीम गर्ल तिमी थियौ तर रथ चल्नलाइ त दुबै पाङ्रा चाहिन्थ्यो। तिमी र सुबिन एउटै रथका दुई पाङ्ग्रा नै थियौ। सारै सुहाउँछ तिमीहरुको जोडी पनि। मैले आफ्नो प्रेम अस्तित्वबिहिन महसुस गरेँ।मित्रता नि सारै कमजोर महसुस गरेँ। तसर्थ मैले तिमीसँग दूरी बनाउने निश्चय गरेँ। तिमीभन्दा आफू टाढै रहने प्रयास गरेँ।
मैले गीतालाइ Text गरेँ । म बिचमा पर्न चाहन्न। मेरो मायाको कुनै अस्तित्व छैन भनेर। उसले नि भनी "I know. I feel bad for you. धन्न तिमीले धेरै Expectation राखेनौ नत्र बढी Hurt हुने थियो।"मैले पनि "अँ, धन्नले।समयमै सबै कुरा थाहाभएर म धेरै डुबिन।"भनेर उसलाइ भनेँ। तर मेरो भावना तिमीप्रति त महासागर जस्तै गहिरो थियो। मैले धेरै Expectations र सपना सजाएको थिएँ तिमीसँग। म एकदमै Hurt भएको थिएँ। तर आफूलाइ सम्हाल्दै मैले गीतालाइ भनेँ " रुबिनालाइ कहिल्यै नभन्नू है यो कुरा।" गीताले हुन्छ भनी।
त्यसपछे मैले नचाही नचाही पनि तिमीलाइ इग्नोर गर्ने प्रयास गरेँ। तिमीले मेसेज गर्दा मेरो स्क्रीनमा पप हुन्थ्यो च्याट-बकस। तिम्रो प्रत्येक मेसेज आउनासाथ रिप्लाइ गर्थे म। तर त्यो बेला गरिँन। केही रिप्लाइ नि गरिन। त्यही दिन तिमीले कल पनि गर्यौ तर मैले त्यो पनि उठाइन। म टाढा टाढा हुन खोजिरहेको थिएँ। मलाइ सारै गार्हो लागिरहेको थियो। मनमा भावनाको पहाड छ। न कसैलाइ बताउन सक्दछु न त तिमीलाइ भन्न। तिमीलाइ १२ को बोर्ड पछी उपयुक्त समय निकालेर मेरो भावना सबै भन्ने मैले प्लान बनाएको थिएँ ।
मलाइ तिमीसँग एकदिन Day-Out गर्ने चाहना थियो। सिर्फ तिमी र म। अनि त्यही दिन तिमीलाइ प्रपोज गर्ने अनि अहिलेसम्म मनमा रहेका सबै भावना प्रस्फुटन गर्ने इच्छा थियो। त्यो दिनको सुरुवात बिहान ७ बजे बाट हुनेथियो। तिमी र म झम्सिखेल को Karma Coffee मा भेट्नेथिम। त्यहाँ सँगै कफी पिएर हामी गोदावरी जानेथिम् । डुल्दै-डुल्दै एक अर्काको हात समाउँदै हामी त्यहाँको प्रकृतिमा रमाउनेथिम्। त्यसपछी एउटा शीतल एकान्त ठाउँ खोजेर त्यहाँ म तिमीलाइ आफ्नो मनमा बर्षौँदेखी दबाएर राखेको भावना सबै बताउने थिएँ। पहिलोपटक हाँसेको,पहिलोपटक बाझेको,पहिलोपटक मिलेको , Misunderstanding भएको देखि लिएर त्यसदिन सम्मको सम्पूर्ण म बताउने थिएँ अनि प्रश्न गर्ने थिएँ "के तिमी नि मलाइ माया गर्छौ?" तिम्रो जवाफ जे भएपनी त्यो एकठाउँमा हुनेथियो ।त्यसपछि हामी त्यहीँ खाजा खाने थियौँ। अनि सँगै फर्किनेथिम् सातदोबाटो सम्म। दिउँसोको २-३ हुन्थ्यो त्यो समय । त्यसपछी मैले तिमीलाइ बानेश्वर जाऔँ भन्नेथिएँ। त्यहाँको Syanko Katti Roll मा सारै मीठो Katti Roll पाउँछ भन्ने सुनेको थिएँ धेरै जना बाट। त्यो बेलासम्म मैले कहिल्यै कट्टी रोल खाएको थिइन। तिमीसँगै बसेर मलाइ कट्टीरोल खान मन थियो। कट्टीरोल खाएको प्रथम अनुभव म तिमीसँगै गर्न चाहन्थे। कट्टीरोल खाएर हामी निस्किने थिम्। बेलुकी हुन लागेको हुन्थ्यो। ४ वा साढे ४ बजेको हुनेथियो। त्यसपछी हामी त्यहाँबाट गाडी चढेर जमल जानेथिम्। Delicious मा momo खान। तिमीलाइ Delicious मा मम खुवाउने मलाइ पहिल्यै देखि रहर थियो। Delicious मा म:म खाएपछी हाम्रो सम्बन्ध नि एकदम Delicious हुन्थ्यो भन्ने मलाइ लाग्थ्यो। साँझ पर्न पर्न लागेको हुनेथियो। हामी त्यहाँ मोमो खानेथिम्। सायद ६ वा साढे ६ बज्दो हो। त्यसपछि हामी रत्नपार्कको पुलनिर आइपुग्ने थियौँ तर त्यो दिन न त तिमी जमल जाने काम छ भनी छुट्टिने थियौ न त म एक्लै भृकुटीमण्डपसम्म जाने थिएँ । त्यो दिन हामी त्यही पुलमुनीबाट माइक्रो चढ्ने थियौँ ; एउटै माइक्रो र त्यो ५ मिनेटको यात्रा हामी एउटै सिटमा बसेर गर्नेथिम् एक अर्कालाइ अँगाल्दै । रुबिना , तिमीसँग यस्तो दिन बिताउने हिजो पनि सपना थियो , आज पनि सपना नै छ र भोलि पनि सपनामै सिमित हुनेछ। सायद कहिल्यै पूरा नहुने सपना।
म तिमीसँग निकै कम बोल्न थालिसकेको थिएँ । बोल्न त कत्ती रहर लाग्थ्यो।जिस्काउन चिढाउन पनि एकदमै चाहन्थे तर सायद यही दूरी नै ठिक होला भन्ने लाग्दथ्यो। कवावमा हड्डी त बन्ने कुरा भएन। हुन त तिमी सुबिनसँग खुसी हुँदा म नि खुसी हुनपर्ने हो । तिम्रो खुसी नि मेरो खुसी भनेर तर मन त्यसै खिन्न भएर आउँदथ्यो। म तिमीलाइ दैनिक मिस गर्दथे।जब पनि मेसेन्जर खोल्थे नि आशा गर्थे कि तिम्रो मेसेज आओस। भाइबरमा टुङ-टुङ गर्दा तिम्रो मेसेज त हैन भनेर चेक गर्थे। थाहा छ मैले एकचोटी जिस्किँदै तिमीलाइ भनेको थिएँ नि "कुन दिन झोँक चल्यो भने म स्प्राइट देखि स्पिरिटसम्म हैन भाइबर देखि ड्राइभरसम्म लेख्छु रुबिना तिमीलाइ सम्झेर।"भाइबर सिर्फ तिमीसँग बोल्नकै लागि भनी मैले इन्स्टल गरेको थिएँ । कत्ती जिस्काउँथे पनि भाइबरमा । तिमीलाइ कत्ती शायरी हरु पनि पठाउँथे तर तिमीले हाँसेरै टारिदिन्थ्यौ।
यसैक्रममा मलाइ एकदिन गीताको मेसेज आयो। तिमीसँग एउटा Important कुरा गर्नु छ है भनेकी थिइ। मैले बेलुका मेसेज देखेर रिप्लाइ गरेँ। त्यो दिन तिमी र गीता भेटेका रहेछौ अनि कुराकानी भएको रहेछ। गीताले मलाइ भनी "ओए! रुबिना र सुबिन बिच केही नि हैन रहेछ। साथी मात्र रहेछन।" उसले फेरि थपी-"तिमी र रुबिना पहिला जसरी नै बोलचाल सुरु गर।" तर म यहाँ एकदम दुविधामा थिएँ। मेरो मनमा तिमी प्रतिको प्रेम-भावना तिमीलाइ मैले बताएकै थिइन। तिमीलाइ नि लाग्दो हुँदो हो आउँछ १-२ महिना बोल्छ अनि फेरि गायब हुन्छ। यो प्रेमले गर्दा हाम्रो मित्रता त डामोक्लेसको तरबार झैँ झुन्डिएको थियो। मैले गीतालाइ हुन्छ सकेसम्म प्रयास गर्नेछु भनेँ। यत्तिकैमा उसले फेरि मेसेज गरि "अनि साँची सुन , मैले तिम्रो भावना रुबिनालाइ भनिदिएँ है।" म त तीन-छक्क परेँ। नसुनाउनु भनेको झन कस्तो सुनाएको त भन्न मनलाग्या थियो तर सिर्फ "ला!हो र? गर्नु गरेछौ" भनेर हाँसेको इमोजी पठाएँ। तिमीलाइ मेरो भावना थाहा छ भन्ने सुनेपछी त तिमीसँग बोल्न झनै awkward लाग्न थाल्यो। गीताले त भन्थी "रुबिना! बुझ्झकी छे। तिम्रो भावना बुझ्नेछे । अरु त म भन्न सक्दिन तर तिम्रो मन दुखाउने छैन । तर तिमी यो भावनाको कारणले गर्दा मित्रता नटुटाउ। तिमीहरु मिल्ने साथी हौ। त्यो साथीपनालाइ धरापमा नपार।" गीताको कुरा नि एकदमै ठिक थियो। मेरो मनमा द्वन्द्व चलिरहेको थियो। कसरी तिमीलाइ सामना गर्नेहोला भनेर। पक्कै पनि तिमीलाइ मैले अलिकती खुलेर के बोलिदिएको थिएँ , आकर्षित भै हालेछ। गीतालाइ नै कहानी थाहा थिएन त तिमीले मलाइ त्यहाँ अर्कै ढंगले Judge गर्नेछौ जस्तो लाग्थ्यो। सायद तिम्रो नजरमा म तिनै आवारा केटाहरु झैँ थिएँ जो कोही केटीले अलिकती frank भएर बोल्दैमा Love पर्यो भन्दै हिँड्छ। त्यसमाथी तिमी मलाइ स्त्रीलम्पट भनी खुब भन्थ्यौ। मलाइ अफ्ठ्यारो लागिरहेको थियो सामना गर्न । तर पनि धेरै आँट गरेर मैले तिमीलाइ भाइबरमा मेसेज गरेँ Hi भनेर।
तिमीले रिप्लाइ गर्यौ। हामीले निकै बेरसम्म च्याट गर्यौँ। तिमीले मेरो खुब खिल्ली उडायौ सुबिनसँग रिलेसनमा छु भन्ने पत्यायौ भनेर। तिमीले त्यस्तो केही पनि हैन।सिर्फ साथी हो। पहिला मनपराएको हो । Approach गरेको भए हुन्थ्यो तर मैले गरिन भनी सबै कुरा भन्यौ। तिमीले मलाइ सबै स्पष्टीकरण दिएको थियौ। तिमीले त्यसरी खुलेर सबै कुरा भन्दा मलाइ सारै खुसी लाग्यो। मैले आफ्नो ब्यवहारको लागि माफी नि मागे। तिमीले सहजै माफ गरिदियौ। तर एउटा प्रश्न छ रुबिना। तिमीलाइ त गीताले तिमीप्रती मेरो प्रेम भावना छ भनेर पनि त बताएकी थिइ नि। गीताले सिर्फ सुबिनको बारेमा त भनेकी थिइन। तिमीलाइ थाहा थियो मेरो सारा फिलिङ्सको बारे तर तिमीले एकपटक पनि सोधेनौ "के तिमी मलाइ साँच्चै माया गर्छौ?"। तिमीले त त्यो कुरालाइ रत्तिभर पनि वास्ता गरेनौ त । म माथी के बितिरहेछ भनेर तिमीले सोचेनौ। तिमीलाइ थाहा थियो त म भावनात्मक कुराहरुमा कच्चा छु भनेर। मैले कत्ती आशा राखेको थिएँ।पक्कै रुबिनाले सोध्ली के हो ? भनेर। मैले तिमीलाइ माया गर्छु भन्ने कुरा तिमीलाइ केही पनि लागेनछ। हाँसेर उडाएछौ तिमीले त। सायद त्यो दिन तिमीले मलाइ त्यति सोधिदिएर यदि तिम्रो जवाफ नाइँ भए मलाइ सम्झाइदिएको भए मेरो मन त्यति दुख्दैन थियो होला जति आज १ वर्षपछीसम्म पनि दुखेको छ र पर्खाइमा छ कि तिमीले मलम लगाइदिन्छ भनेर। तर म तिम्रो नजिक कहाँ छु र ? न भौगोलिक नजिक न त मनको नजिक तर पनि एउटा झिनो आश सँधै लाग्छ कि एकदिन त रुबिना अवश्य आउनेछे। कत्ती बुद्दु छ यो मन पनि।
श्रावणको महिना थियो। मेरो IOE Entrance नजिकिँदै थियो। २१ गते थियो मेरो इन्ट्रान्स। तिमीलाइ याद थियो। म बेजोडले तयारी गरिरहेको थिएँ। मेरो करियर निर्धारण गर्ने इन्ट्रान्स जो थियो। एउटा डर पनि थियो।कतै मैले यहाँ चिप्लिए भने? मेरो बचपन देखिको इन्जिनियर बन्ने सपना त स्वाहा हुनेछ। म निक्कै मिहिनेत गरेर तयारीमा थिएँ। ब्यस्त नै थिएँ म तर हरेक दिन तिमीसँग बोल्न, च्याट गर्नका निमित्त म समय निकाल्दथे। तिमीसँग बोल्न मलाइ एकदमै मनलाग्थ्यो तर एकातिर मात्र रोटि तताएर कहाँ पाक्दो रहेछ त? म बोल्न खोज्थे तिमी इग्नोर गरिदिन्थ्यौ। सुबिनसँग घुम्न गएको हुन्थ्यौ। मैले तिमीलाइ मोटिभेट गर न मलाइ भनी भनेको थिएँ एकदिन। तिमीलाइ मलाइ मोटिभेट गर भन्नुको अर्थ तिमी केही शब्द लेख जसले गर्दा मलाइ अझै प्रेरणा जागृत गरोस। आफूले आफैलाइ "गर" भन्नू र आफूले प्रेम गरेको मान्छेले "गर" भन्नुमा अन्तर हुन्छ नि तर तिमीले के गर्यौ थाहा छ ? गुगलमा केके भेटेर स्कृनसट गरेर लाउ यो पढ मोटिभेट हुन्छौ भनेर पठायौ। नेट त मेरो नि घरमा छ नि। तिमीलाइ मेरो निम्ति २-४ शब्द लेखिदिने मन पनि थिएन। अझ तिमीलाइ अर्को कुरा थाहा छ? २१ गतेको दिन म बिहान ४ बजे उठेर साढे ५ मा घरबाट हिँडेको थिए। ७ बजेबाट इन्ट्रान्स थियो। हिँड्दै थिएँ कि ५:४० तिर मेरो मोबाइलको रिङ्टोन बज्यो। म एक्कासी त्यो Adrenaline Rush भए जसरी नै खुसी भएँ। पक्कै पनि रुबिनाले All the best भन्नलाइ फोन हानेको हुनुपर्छ भन्ने लाग्यो। मैले हतारिँदै गोजीबाट मोबाइल झिकेँ तर त्यो कल तिम्रो थिएन; मेरो साथीको थियो जसले आफू पुल्चोक आइपुगेर पर्खिरहेको बताएको थियो। तिम्रो कल आएन त्यो दिन। आउँथ्यो पनि कसरी र तिमीले त ३ दिन अगाडि नै अल द बेस्ट , २१ गतेको लागि शुभकामना भन्दै तत्पश्चात केही बोलेकै थिएनौ। कसैले फूलपातिको दिन टीका र जमरा लगाएर आशिर्वाद दिन्छ र?
इन्ट्रान्स सकिएसी म रिजल्टको पर्खाइमा थिएँ। मैले जहिले पनि आफैले सुरुमा टेक्स्ट गर्नपर्थ्यो। तिमीले आफै नि टेक्स्ट गर्छौ होला त भनी जान्न मन लाग्यो। तिम्रो तेतिबेलाको लास्ट टेक्स्ट २३गते गरेको थियौ। इन्ट्रान्स कस्तो भयो भनेर। मैले ठिकै भयो भनेँ। तिमीले "Ae Ae" भन्यौ अनि छाडिदियौ। मैले त्यसपछी तिमीलाइ टेक्स्ट गरिन। पर्खिरहे तिमीले सुरुमा टेक्स्ट गर्छौ कि भनेर। दिनहरु बित्दै गए। मेरो इन्ट्रान्सको रिजल्ट आयो। मेरो rank १५०० भन्दा पछाडि आयो। सोचेजस्तो पटक्कै भएन। निराश थिएँ । अब छोडिदिन्छु इन्जिनियरिङ भनेर मैले त्रिचन्द्रमा जियोलोजी संकायमा फर्म भरेर घर फर्किएँ। म जुन दिन घर फर्किँदै थिएँ त्यो दिन म इटहरी पुग्दा बिराटनगर जाने बसपार्कमा बस रोकेको थियो। मैले मोबाइल निकालेर नेट अन गरेँ। गर्नेबित्तिकै एउटा मेसेज Pop-up भयो इन्स्टामा । "रुबिनाले भनेकी सन्जित सरलाइ तुरुन्तै फोन गर रे।"भनेर एउटाले मलाइ पठाएको थियो। हुन त जसले मलाइ मेसेज गर्यो उ पनि साथी हो तर के रुबिनाले मलाइ फोन वा मेसेज गर्न सक्दिन थिइ र? सरले त रुबिनालाइ भन्नुभाको थियो नि खबर गर्नु भनेर। तर अहँ तिमीले फोन मेसेज केही नै गरेकी थिइनौ। कोही अर्कैलाइ भन्न लगाएकी थियौ। सायद तिम्रो आवाज सुन्ने वा टेक्स्ट पाउने लायकको तिमीलाइ म लाग्दिन थिएँ होला। अर्कैको मार्फतबाट भनेतापनी कमसेकम भन्यौ त्यसको लागि म कृतज्ञ छु किनकी त्यो फोन कलले मेरो इन्जिनियरिङ पढ्ने सपना पुन: साकार भएको थियो। मैले इन्जिनियरिङ छोडेर जियोलोजी पढ्नुपर्ने भएन। आफ्नो सपनामा बाँच्ने थिएँ। तर तिमी आफैले मलाइ कल गरेर यो कुरा भनेको भए ? क्षणिक रुपमा भएपनी यो मन सारै नै रमाउने थियो।
त्यसपछि त हाम्रो बोल्ने क्रम धेरै नै पातलिएको थियो। तिमी त बन्दै टेक्स्ट गर्दिनथ्यौ। हेर्दाहेर्दै मङ्सिरमा तिम्रो बर्थ डे आयो। त्यो दिन मैले घडीमा १२:०० ठ्याक्क बज्ने बित्तिकै तिमीलाइ Wish गरेँ। त्यो दिन केही बात मारिम।त्यस्पछी फेरि ईतिहास दोहोरिन थाल्यो। म तिमीलाइ कति मिस गर्थे।कति बोल्न मन लाग्थ्यो।केही शायरी वा गजल लेख्दा तिमीलाइ सुनाउन मन लाग्थ्यो। कलेज जाँदा तिमी काठमाडौ बस्दाको ठाउँ हुँदै जानपर्थ्यो।प्रत्येक दिन म त्यहाँ पुग्दा तिमीसँग त्यहाँ भएका सम्झनाहरु याद गर्थे। प्रत्येक पल्ट मेसेन्जर खोल्दा कतै तिम्रो त मेसेज छैन भनी खुब चेक गर्दथे। हरेक पटक निराश हुन्थे तर हरेक पटक आशा जागेर आउँथ्यो। पूराना साथीहरुलाइ भेट्दा तिम्रो खबर सोध्दथे। आँखाभरी एउटा भावना छचल्काएर ठिकै होलि भन्थे। मलाइ साँच्चै अफ्ठ्यारो लागिराथ्यो यो सब। मनमा जति नै कुरा दबाएर राखेपनी आँखाले छचल्काइदिँदोरहेछ। मैले मुखले जे बोलेपनी, शरीरले जस्तो प्रतिक्रिया जनाएपनी आफ्नो आँखालाइ मैले ढाँट्न सकिन। बिडम्बना तिमीले पनि यो आँखालाइ बुझ्न सकिनौ।
यी सबै कुराहरु तिमीलाइ सुनाउँदै गर्दा तिमीलाइ लाग्दो हो कि मैले तिमीसित केवल सिकायत मात्र राखेको छु। केवल दोष मात्र दिन्छु तर त्यस्तो होइन।तिमीलाइ म कत्ती माया गर्छु भन्नेकुरा म आफू शब्दमा उतार्न सक्दिन। जब तिमीसँगको पलहरुको सम्झना आउँछ नि तब बडो अचम्म लाग्दछ। जुन ब्यक्तिसँग सधैँ झगडा गरिरहने, हाँसो उडाइरहन्थे त्यही ब्यक्तिलाइ म माया गर्न पुगेको थिएँ। तिमी मेरो एकदमै असल साथी थियौ र हौ पनि तर पनि हामी बिच नोक-झोक चलिरहन्छ। मलाइ तिमीलाइ चिढाउन एकदमै मनपर्छ। याद छ तिमी पहिले मलाइ कति चिढाउँथ्यौ ,व्यंग्य गर्थ्यौ। म त्यो एकदमै मिस गर्दछु। तर ती सबै आज सिर्फ सम्झनामै सीमित छन। तिमी छौ तर पनि छैनौ जस्तो आभास हुन्छ। तिम्रो चुलबुलेपना ,चकचकेपना अत्यन्तै लोभलाग्दो छ। मैले मित्रताबाट प्रेममा उक्लिएँ । तिमी मित्रतामै अडिग रहयौ। रथ चल्नलाइ त पाङ्राहरु एकै लेभलमा हुनपर्थ्यो सकेन। तिमी आज जहाँ छौ खुसी छौ। अगाडि बढेको छौ। मलाइ थाहा छैन म खुसी छु कि छैन। भन्नलाइ त धेरै किस्साहरु छन। लेख्नलाइ त कयौँ कथाहरु छन यो प्रेमको तर पनि लेखिएका छैनन। आज झन्डै डेढ वर्षपछि यी सबैकुरा मैले व्यक्त गरेको छु। आज पनि तिमीलाइ एकदमै माया गर्दछु। मनमा यसरी गढेर बसेको छौ कि तिम्रो सम्झना बिनाको कुनै दिन नै छैन। म त कहिल्यै बोल्न नडराउने निर्धक्कसँग कुरा राख्ने मान्छे हुँ तर तिमीसँग यी कुरा राख्न आँट नै आएन। यति भारी र डर त मलाइ कहिले लागेको थिएन। म धेरै सपना बुन्थे।कल्पनाहरु गर्दथे तर तिम्रो सामु भन्न चाहेर पनि भन्न सक्दिनथे। म तिमीसँग कहिल्यै कुनै क्याफेमा कफी खान गैन। न त तिमीलाइ आजसम्म कुनै चकलेट या गिफ्ट दिएँ। न तिमीसँग कुनै ठाउँ घुम्न गएँ न त कहिल्यै गुलाब दिएँ। कस्तो खाले प्रेम? जस्तो लाग्दो होला तिमीलाइ । मलाइ आफैँ थाहाछैन कस्तो प्रेम हो भनेर। सिर्फ यति थाहा छ मैले यस्तो प्रेम कहिल्यै महसुस गरेको छुइन। मैले तिमीसँग प्रेम गर्दैछु भन्ने थाहापाउनै डेढ बर्ष लाग्यो ,सबै कुरा भन्न पनि डेढ बर्ष लाग्यो। न आफ्नो मन कहिल्यै बुझेँ न तिमीलाइ। एउटा Destiny जस्तै लाग्छौ तिमी। मेरो Life-long destiny । शब्दले मन जित्नेहरुको भीड छ ,मसँग सिर्फ आभास मात्र छ।
मेरो तिमीप्रतिको प्रेम ताजमहल जस्तै छ। सबैले देखिरहेका छन मुमताज बाहेक। मलाइ प्रेम ब्यक्त गर्न आउँदैन। म एकदमै स्टुपिड छु यस्तो मामिलामा। म तिमीलाइ निबन्ध जसरी मेसेज गर्दछु। कलेजबाट लखतरान भएर गर्मीमा कोठा फर्किँदा मेरो मेसेजको थुप्रो देख्दा झनक्क रिस उठ्दो हो। तिमी रिसाउँदा मलाइ फकाउन आउँदैन।मलाइ सिकाउन। मलाइ प्रेमको परिभाषा थाहा छैन । कसरी प्रेम देखाउँछन ,ब्यक्त गर्दछन केही थाहा छैन। तिम्रो नाममा यही कथा लेखेर प्रेम प्रकट गरेको छु। I am a total nerd। तिमी सिकाउ न मलाइ प्रेम गर्न। म पनि अलि अलि जानेको पढेको कुराहरु सिकाउँला। एक-अर्कालाइ सिक्दै सिकाउँदै जीवन कटाउँला न। सँगै भुक्के पाउरोटी खाऔँला । एक-अर्काको हात समाइ धेरै ठाउँ घुमौँला। विभिन्न नयाँ-नयाँ खानेकुराहरु खाऔँला। तीजमा एक-अर्काको लागि व्रत बसौँला। अरु पनि केके गरिन्छ I don't know। सँगै मिलेर पत्ता लगाऔँ न। हामीले एक-अर्कालाइ धेरै बुझेका छैनौँ होला तर एक-अर्कालाइ नियाल्दै, बुझ्दै, बाझ्दै एउटा नयाँ यात्राको थालनी गरौँ न। ३ साल बितिसकेको छ And I still say I love you.I love you to the moon and back. Will you love me just like I do??
म तिम्रो जवाफको प्रतीक्षामा रहनेछु…………………………………
Man choyo netaji
ReplyDelete