नलेखिएको कथा : भाग १

"आज मलाइ तिम्रो नेपाली कापी देउ न ल ।"
"नाइँ मेरो होमवर्क बुझाउनु छ।"
"प्लीज देउ न के ।"
सयपत्री झैँ ढकमक्क फक्रेका ती आँखा जब रसाएर कुरा गर्दथे , लाग्थ्यो कि त्यस आँखाको नमीको प्रत्येक कणहरूम स्वयं मोहिनी नाच्दै मलाइ ललायित पार्दैछिन । भोलिपल्ट कापी बुझाउनु थियो तर मन बुझाएको मान्छेले नै माग गरेपछी बिचरो कापी पनि उतै जान उत्साहित बन्दो रहेछ ।

चार वर्ष भएको थियो , हामीले एक-अर्कालाइ चिनेको । बिछट्टै मिल्थ्यौँ हामी । बाझ्न पनि निक्कै बाझ्थ्यौँ। देख्नेले नि भन्ने गर्दथे "कस्तो कुकुर र बिराला जसरी बाझेका।" तर झगडा गर्नमा नि बडो आनन्द लाग्दथ्यो। अक्सर बोल्ने क्रममा उसको डटपेन टोक्ने बानी थियो । त्यो बानी मलाइ सारै मन पर्दथ्यो । हातमा डटपेन घुमाउँदै बोल्दा म कत्तिखेर उसको डटपेन खस्छ भन्ने प्रतीक्षामा बसेको हुन्थे । कतिखेर डटपेन खस्नेछ अनि उसले भन्नेछे ," प्रसन्न , त्यो डटपेन टिप्देउ न ।" म बडो उत्साहित हुँदै डटपेन टिप्दथेँ । हातमा दिदाँ उ मुसुक्क मुस्कुराउँदथी अनि भुतुक्क लजाएर म लुसुक्क आफ्नो नजर लुकाउँदथे ।
तिमी अर्थात मेरो जिन्दगीको त्यो पात्र जसलाइ मैले कहिले बुझ्न सकिन । एउटा पहेली जस्तै थियौ तिमी : एक प्याज जस्तै ; प्रत्येक पत्र उप्काउँदै म तिमीलाइ बुझ्न चाहन्थे । प्रत्येक पत्र उप्किँदै तिमी अझ रहस्यमयी बन्दै जान्थ्यौ । म यही कुराले लोभिन्थे। मेरो झगडालु साथी जोसँग प्रत्येक कुरामा झगडा गर्न र खिल्ली उडाउन मलाइ एकदमै मजा लाग्थ्यो। तिमीसँग मलाइ कहिले राम्ररी बोल्न आएन। जतिखेर बोल्थे झगडा मात्र हुने । सायद त्यही नै सही थियो । बिर्सिसकेउ होला तिमीले त तर मलाई अझै याद छ पहिलोपटक तिमीसँग झगडा नगरेको , बिल्ला नगरेको । म्याथ क्लास थियो त्यो बेला । म सरले लेखाउनुभएको कुरा कापीमा लेख्न ब्यस्त थिएँ । यत्तिकैमा छेउको साथी चल्न थाल्यो अनि अचानक मेरो हातबाट पेन फुत्किएर मेरो Row को पल्लोपटी तिमी बसेको बेन्चमुनी खस्न पुग्यो। मैले तिमीसँग त्यो पेन टिपिदेउन भन्न सकिन । भनेपनी तिम्रा तिखा वचन अवस्य पर्थ्यो भन्ने मलाइ आभाष थियो । म तिम्रो छेउमा बसेकी साथीलाइ पेन टिप्न लगाउन लागेको थिएँ कि यत्तिकैमा केही यस्तो घट्यो जुन आज ४ वर्ष पछीपनी मलाइ सम्झनामा छ । याद छ तिमीलाइ तिमीले त्यो पेन टिपेकी थियौ अनि मुस्कुराउँदै मलाइ भनेकी थियौ,"तिमीले सोचेजस्तो खराब नि म छैन।" साँच्चै थिएनौ तिमी। तिमी त कोमल हृदयकी थियौ जसलाइ म आफ्ना ब्यङ्ग्य वचन लगाइरहन्थे। कहाँ थाहा थियो र मलाइ कि एकदिन मैले तिमीलाइ सबैभन्दा धेरै माया गर्नेछु भनेर। कलेजको पहिलो दिन । नयाँ जोश र उमङ्गका साथ म नयाँ रङ्गमा आफूले आफुलाइ घोलिरहेको थिएँ। म प्रत्येक नवीन अनुभूति सूक्ष्म ढङ्गले आभाष गरिरहेको थिएँ ; चियाको चुस्की लिएझैँ। आफ्नो क्लासबाट म तल झर्दै के थिए कि मेरा नजर तिमीमाथि पर्न गए । तिमी खिन्न देखिन्थ्यौ । सायद नयाँ ठाउँमा त्यति रमाएकी थिइनौ तिमी। हुन त मलाइ तिमीसँग बोल्न कहिल्यै रहर लाग्दैन थियो तर किन किन त्यो दिन एकदम बोल्न मनलाग्यो। बोले पनि । तिमी आफ्नो घर परिवार सबै मिस गर्छु भनेर भन्थ्यौ। मिस त म पनि गर्थे तर तिम्रो सामु कहिल्यै उजागर गरिन। हाँसेरै टारिदिए। बिस्तारै बोलचाल सुरु हुँदै गयो । हामी प्राय दिन-दिनै बोल्थिम । भेट्दा नत्र फेसबूकमा। रमाइलो लाग्न थालेको थियो मलाइ तिमीसँग बोल्न। कत्तिपटक त तिमीसँगै गेट बाहिरसम्म जानकै लागि मैले Library मा आज १घन्टा बस्छु भन्दै तिम्रो छुट्टी होउन्जेल कुरिरहन्थे। पर्खाइ पनि रमाइलो लाग्द्थ्यो। सायद प्रेम र घृणामा थोरै मात्र अन्तर हुँदो हो।त्यसैले होला , तिमीप्रती रहेको एक तिक्तता कतिखेर मिठासमा परिवर्तन भएछ मैले पत्तै पाइन । अन्जान थिएँ म कुन बाटो जाँदै छु ? गन्तव्य कहाँ हो भनेर ? तर मैले यी कुरा त्यतिबेला कहिल्यै सोचिन । म रमाएको थिएँ त्यो यात्रा मा ।यही यात्राको साथ समयको यात्रा समेत बढ्दै थियो । ११ को एक्जाम सकिएको थियो । मैले राम्रै गरेको थिएँ ।तिमीले समेत राम्रै गर्यौ होला भन्ने थियो। बूढापाकाले भन्ने गर्थे,"बाबू , १२ वर्षमा त खोलापनी फर्किन्छ है।" पक्कै नै यो '१२' अङ्कमा केही त अवस्य थियो। त्यसैले त हो नि १२ कक्षा मेरो लागि एउटा महा-परिवर्तनको तयारी गरिरहेको थियो जुन मैले कल्पना नि गर्न सकेको थिइन।
तिमी र म एकदमै क्लोज फ्रेन्ड्स भैसकेको थिइम। कत्ती कुरा सेयर गर्थिम हामी एक अर्कालाइ। म साँच्चै नै तिमी जस्तो साथी पाउँदा आफूलाइ भाग्यमानी ठान्थे तर यी सबका साथ तिमीप्रती प्रेमको चरा अझ माथी-माथी उडान भरिरहेको मैले चाल पाएकै थिइन। कल्पनासमेत गर्दिन थिएँ कि तिमीप्रती प्रगाढ प्रेम लुकिरहेछ भनेर। तिमीलाइ याद छ ? एउटा प्रोग्राममा तिमीले भनेकी थियौ , "प्रसन्न, तिमीलाइ त यो कालो भादगाउँले टोपीले सुहाउँदो रहेछ।" एउटा सामान्य कम्प्लिमेन्ट थियो तर मलाइ यस्तो प्रभाव पार्न गयो कि मैले पूरै १२ कक्षाभरी टोपी लगाएर कलेज आउन थालेँ। कसैले सोध्दा म भन्थे कि म राष्ट्रिय संस्कृति जोगाउन लगाएको, राष्ट्रप्रेम भएर इत्यादि । तर वास्तविकता अर्कै थियो । मलाइ थाहा छैन मैले टोपी लगाएर आउँदा कसले कस्तो धारणा राखे ? तिम्रो धारणा प्रष्ट पारेकी थियौ अगाडि नै सुहाउँदो रहेछ भनेर। त्यही मेरो लागि पर्याप्त थियो। बिस्तारै तिमीप्रति कस्तो अनौठो भावना जागृत हुन थाल्यो। क्यान्टिन टाइममा साथीहरुसँग खाजा खान बस्दा मेरा आँखाहरु तिमीलाइ नै खोजिरहन्थे। तिमी त्यही हुन्थ्यौ तर पनि म तिमीलाइ एक्दमै मिस गर्दथे। मलाइ तिमीसँग त्यो क्यान्टिनमा बसेर एक कप चिया खान एकदमै मन थियो; सिर्फ तिमी र म बसेर तर मलाइ त्यो सौभाग्य कहिले प्राप्त भएन। कहिलेकाहीँ क्यान्टिन छिर्दा अगाडि नै तिमी आफ्नो साथीहरुसँग बसेर खाजा खाइरहेकी हुन्थ्यौ। म नदेखे जस्तो गरि पुलुक्क तिम्रो खाजा हेर्दथे अनि त्यो दिनको मेरो खाजा त्यही हुन्थ्यो जुन तिमीले खाइरहेकी हुन्थ्यौ। सायद सँगै बसेर खाजा खान नसकेता पनि एउटै खाजा खाँदा मलाइ तिमीसँगै बसेर खाजा खाए जस्तै लाग्थ्यो । मलाइ थाहा थिएन म किन त्यस्तो गरिरहेको थिएँ? रमाइलो लाग्दथ्यो मलाइ त्यस्तो गर्न ।
प्रेम भएपछि ईर्ष्या (Jealous) एकदमै भैँदो रहेछ। अहिले सम्झिँदा आफैँ हाँसो लागेर आउँछ । मैले त्यो कालखण्डमा तिमीले जुन जुन केटासँग हाँसेर बोलेको देख्थे नि , म सारै जेलस हुन्थे। तिमी अर्को सँग हाँसेको, जिस्केको , मस्केको , बोलेको मलाइ मन नै पर्दैन थियो। I hated each and everyone of them. काम नपाका मोराहरु , दुनियाँ छन त । किन तिमीसँगै बोल्नपर्ने ? अझ कोही कोही त तिमीसँग टाँस्सिएको देख्दा त नि म रिसले अग्निशर्मा बन्दथे। तिनीहरुलाइ त ड्याम्का ड्याम कुट्न मनलागेर आउँथ्यो। छेउमा ढुङ्गा हुँदो हो त म त्यही ढुङ्गाले हान्थे होला तिनीहरुलाइ तर ढुङ्गै थिएन छेउमा। यति मात्र कहाँ हो र ?मलाइ त सर देखि नि ईर्ष्या लागेर आउँथ्यो। एउटा सरको तिमी एकदमै तारिफ गर्थ्यौ। मेरो फेभरेट सर हो। एकदम मलाइ मनपर्छ भन्दै । त्यो सर फेरि अबिबाहित थिए। फेसबूकमा कत्ती यस्ता न्यूज पढेको थिएँ " सरले आफ्नै क्लासको बिध्यार्थीसँग विवाह गरे।" "बिध्यार्थी र सरको बिच यस्तो गहिरो माया।" केके केके । न्यूजमा फेरि यी बिध्यार्थी चै १२ मा पढ्ने हुन्थे। अनि मलाइ मनमा सारै चिसो पस्यो। बा साँच्चै यस्तै गहिरो माया बस्यो भने ? साँच्चै त्यो सरले तिमीलाइ १२ पछी बिहे गरेर लग्यो भने ? मैले त तिमीलाइ म्याम भन्नुपर्छ । यस्तै यस्तै उट्पट्याङ सोच्न पनि म पछी परिन। म साँच्चै नै एक वेवकूफ थिएँ त्यो बेला । मैले अझै यो मान्न सकिरहेको थिइन कि म तिमीलाइ प्रेम गरिरहेको छु भनेर । एकदिनको कुरा हो । मङ्सिरको महिना थियो। सिम्सिम् पानी परिरहेको थियो। भिज्ने गरि त थिएन तर टपक टुपुक। टिफिनको समय ; म आफ्नो क्लासको झ्यालमा बसेर बाहिर हेरिरहेको थिएँ, तिमीलाइ खोजिरहेको थिएँ । यत्तिकैमा मैले तिमीलाइ आफ्नो साथीसँग हाँस्दैआउँदै गरेको देखेँ। चिटिक्क कोरेको कपाल , निधारमा कालो टिका, गुच्चा जस्ता ती ठूला काला आँखा , ती आँखाको अगाडि गोलो चस्मा , चट्ट मिलेको नाक , त्यो नाकको तल एउटा अर्को कालो टीका , ती अङ्गुर जस्ता ओठ , ती ओठले लुकाएर राखेको ती पर्फेक्ट मिलेका दाँत ,त्यसको अलौकिक हाँसो जस्लाइ तिमी आफ्नो मफलर ले मुख छोप्दै हाँस्दै थियौ । म पूरै मन्त्रमूग्ध थिएँ। मलाइ तिमी बिछट्टै राम्री लाग्यौ तिमी ; साक्षात स्वर्गबाट झरेकी अप्सरा जस्तो। त्यो दिन मेरो मनले तिमीलाइ अप्सरा नै ठानेको थियो। त्यसैले थियो मैले तिमीलाइ प्रत्येक पल्ट अप्सरा भन्ने गर्दथे । म भन्थे साँच्चै तर तिमीलाइ उडाको जस्तो लाग्थ्यो। म मन्द मुस्कानको साथ तिमीलाइ नियालिरहेको थिएँ। यत्तिकैमा मेरो एउटा साथीले मलाइ पछाडी ढाडमा प्याट्ट हिर्काएर भन्यो " के हो ? लभ पर्यो कि क्या हो ? " अनि हाँसेर गयो। उ पो हाँसेर गयो तर मलाइ उसको आवाज कानमा गुन्जिरहयो । म साँच्चै तिमीलाइ प्रेम गरिरहेको रहेछु। मैले तिमीसँग पहिलोपटक भेट भएदेखिको सबै घटना सम्झिए। म प्रेम गर्दोरहेछु तिमीलाइ। अर्गेनिक केमीस्ट्रीको त्यो क्लासभरी मैले केवल तिम्रो बारे मात्र सोचेँ। म सारै खुसी थिएँ त्यो दिन । त्यो दिनभरी तिमीसँगको प्रेमिल ख्यालहरुले मलाइ आनन्दविभोर गराइरहेको थियो। त्यो रात म अत्यन्तै खुसी भएर निदाएको थिएँ ।
                                                                                             त्यही दिन मैले सपनामा तिमीलाइ देखे। हुन त तिमीलाइ सपनामा देख्नु कुनै नौलो कुरा थिएन तर यो सपना भिन्न थियो। एउट बगैँचा जस्तो ठाउँमा थियौँ हामी। हल्का हल्का पानी छिट्याइरा थियो। तिमी निधारमा कालो टीका, ओठमा रातो लिपिस्टिक लगाइ आफ्नो कपाल छोडेर स्काइ ब्लु कलरको सारी लगाएर आएकी थियौ । कत्ती चैँ राम्री देख्याथ्यौ? म बयान गर्न शब्द भेट्दिन।अझै पनि झल-झली याद छ मलाइ त्यो सपना । मैले तिमीलाइ त्यो गोलो चश्मा लगाउन भनेर भने । तिमीले हुन्छ भन्दै लगायौ। तिमी र म धेरै नजिक उभिएको थियौँ। एकले अर्कालाइ मन्द मुस्कानको साथ हेर्दै ।मेरो मुहार सामु तिमी मुसुक्क मुस्कुराउँदै उभिएको थियौ । मैले आफ्नो दुबै हातको कुहिनो तिम्रो काँधमा राखे अनि भने " आइ लभ यू " । तिमीले नि लजाउँदै जवाफ दियौ , "आइ लभ यू टू फरेवर ।" म खुशीले उत्पात थिएँ । मेरो आँखा खुसीले रसाएको थिए । मैले तिमीलाइ जोडले अँगालो कसे । त्यसपछि मैले तिमीलाइ ओठमा किस गरेँ। सपनामै भए नि पहिलो किस थियो। किस हुँदै थियो । यत्तिकैमा मेरो ३ बजेको अलार्म बज्यो। म बिहान ३ बजे उठेर साढे ४ सम्म पढ्थे । अनि कलेज जाने तयारी हुन्थ्यो। तर मलाइ त्यो दिन त्यो अलार्म मनैपरेन।कस्तो सुन्दर थियो सपना। अ ड्रीम सपना जस्तै। मैले त्यो सपना बिर्सन्छु कि भनेर मोबाईलको मेमोमा लेखेर सेभ गरिहालेँ। फेरि सुतेर त्यही सपना देख्ने प्रयास गरे तर अहँ निद्रै लागेन। मलाइ त्यो सपना देखेसी तिम्रो अझै माया लाग्न थालिसकेको थियो। मनमनै एउटा बाचा गरे " म तिमीलाइ जीवनभरी यसरी नै माया गर्नेछु।" यस्तै ख्याल बोकेर म कलेज जाँदै थिएँ। त्यो दिन देखि मेरो लागि कलेज भिन्न हुनेवाला थियो। तिमीप्रती सम्पूर्ण व्यवहार भिन्न हुनेवाला थियो। त्यो सपना मेरो लागि वरदान जस्तै थियो सायद कुनै सङ्केत कि तिमी नै मेरो लागि हौ र म नै तिम्रो लागि । म छुट्टै चार्म लिएर कलेज जाँदै थिएँ  तर त्यसदिनबाट धेरै थोक परिवर्तित भयो।

तिमीलाइ मैले त्यो देखेको सपना अनि तिमीप्रती आफ्नो भावना तिमीलाइ बताउन एकदमै उत्सुक थिएँ। मैले भन्दा त तिमी पक्कै पनि खित्का छाडेर हाँस्नेछौ भन्ने मलाइ लाग्थ्यो। एकदिनको कुरा हो । टिफिन सकिन अझै केही समय थियो। तिमी मेरो क्लास अगाडि आएर मलाइ बोलायौ। म बाहिर निस्किए । त्यो क्लासबाहिर बसेर हामी बात मारिरहेका थिइम। तिमी त्यही गोलो चश्मा लगाएकी थियौ। मस्किँदै कुरा गर्दै थियौँ हामी। म भन्न आँट्या थिएँ तिमीलाइ सबै कुरा कि तिमी मेरो सामु तिमी हाँसेको देख्दा मैले आफैँले आफैलाइ भन्नबाट रोकेँ। मफलरले मुख छोप्दै तिमी हाँसेको , मैले केही स्टुपिड कुरा गर्दा ह्या , जा भाक् भन्दै तिमीले मेरो पाखुरामा प्याट्ट हिर्काएको; कतै मेरा यी भावना प्रस्फुटन गर्दा मैले यो सबै त गुमाउने छैन ? तिमी बोल्नै छाडेउ भने? त्यसरी निर्धक्क सँग हाँस्न बोल्न ,झगडा गर्न छोडेउ भने ? मलाइ तिमीसँगको त्यो अटुट फ्रेन्ड्सिप टुट्नेछ भन्ने एकदमै डर लागेर आयो। त्यसैले मैले त्यो दिन चाहेर पनि तिमीलाइ केही बताउन सकिँन । दबाएर राखिरहे । यो भावना प्रस्फुटित हुनेबित्तिकै मैले तिमीलाइ पक्कै गुमाउनेछु भन्ने लाग्न थाल्यो।
सायद म बदलिएको थिएँ या तिमी मलाइ अझै थाहा थिएन। तर तिमीमा मैले बिस्तारै परिवर्तनको एउटा अनौठो लहर देख्न थालेको थिएँ। के तिमीले मेरो अन्तरमनको भावना थाहा पाएर टाढिन खोजेको थियौ कि ? अनि फेरि सोच्थे हैन मैले त सकेसम्म यो भावना एकदमै दबाएको छु। तिम्रो सामु त झन एकदमै सचेत नि हुन्थे। त्यही हावा गफ अनि वेवकुफी खाल्के कुरा मात्र गर्थे। एकदिनको कुरा थियो। टिफिन टायममा तिमी र म केमिस्ट्री ल्याबको गेट अगाडि गफ गर्दै थिइम। तिम्रो एउटा साथी नि थिइ छेउमा। यत्तिकैमा कलेजको मेन गेटबाट एउटा कार आयो। म छेउतिर सरे अनि तिम्रो हात समातेर यता छेउतिर तान्न खोजे कारलाइ बाटो दिनलाइ तर त्यो दिन तिम्रो हात समाउँदा तिमी यसरी तर्सेर हात फुत्कायौ कि मानौँ म कुनै अपरिचित ब्यक्ती थिए र तिमीलाइ किड्न्याप गर्न खोजेको थिएँ। त्यो कार जाने बित्तिकै तिमीले "ल ! म गएको ।" भन्दै आफ्नो साथीसँग गयौ। मलाइ तिम्रो त्यो व्यवहार अचम्म लाग्यो। सायद मैले Overthink गरिरहेथिएँ कि ? तर मैले तिमीमा आमूल परिवर्तन देख्न थालेको थिएँ। तिमी एकदम असहज महसुस गरेजस्तो लाग्थ्यो। त्यति धेरै बोल्न नि खोज्दैन थियौ। कत्तिपटक मलाइ देख्दा बाटो तर्किएर नि हिँड्यौ। एकपटक त झन म फिजिक्स ल्याबबाट आउँदै थिएँ। तिमी इङ्ग्लिस डिपार्टमेन्टतिर जान लाग्या थियौ। तर मलाइ देख्ने बित्तिकै तिमीले गेटबाट जान छोडेर बास्केटबल कोर्ट्बाटै छड्के बाटो लाग्यौ। मलाई नराम्रो लाग्यो। रिस पनि उठ्यो। तिमीमा आएको त्यो परिवर्तन अनि इग्नोर गर्ने , तर्किने बानीले मलाइ सारै पोल्ने गर्दथ्यो। यतिमात्र हो र? केमिस्ट्री  एक्जाम को बेला थियो। मैले अलिक चाँडै नै एक्जाम सकेर जाँदै थिए भृकुटीमण्डप अगाडी माइक्रो चढ्न। यत्तिकैमा विद्युत प्राधिकरण अगाडि तिमीसँग जम्काभेट भयो।सायद कसैलाइ पर्खिरहेकी थियौ। मैले एक्जाम कस्तो गर्यौ भने सोधेँ। तिमीले ठिकै भयो भन्यौ। फेरि मैले सोधे "घर जाने हैन?" । तिमीले उत्तर दियौ,"एउटी साथीलाई बूक दिनपर्ने छ र यहाँ कुरेको।"मसँग बोलिरहे नि तिम्रो आँखाले मलाइ हेरिरहेका थिएनन।पर अर्कैलाइ खोजिरहे थिए। तैपनी मैले मनमनै सोँचे "ठिकै छ नि त ।म नि एकछिन कुर्नुपर्यो । तिमीले तिम्री साथीलाइ बूक दिनेछौ अनि सँगै घर जाम्ला।"आखिर तिम्रो र मेरो घर जाने माइक्रो एउटै पर्थ्यो। हुन त तिम्रो घर जान अर्को रुटबाट नि माइक्रो लाग्थ्यो तर सँगै भएको साथी सँगै जानेछौ भन्नेमा म पूर्ण विस्वस्त थिएँ। तर मेरो यो विश्वास काँच जसरी टुक्राटुक्रा भएर टुट्न धेरै समय लागेन। एकछिनपछी एउटा केटा आयो। तिमीलाइ गालामा हल्का चिमोटे जस्तो गरेर जेब्रा-क्रसिङ्बाट बसपार्कतर्फ लाग्न लागेको थियो। तिमीले "ओइ! पख पख ।" भन्दै उसको पछि कुदयौ र बसपार्क तर्फ लाग्यौ। दोस्रो रुटबाट घर जान लाग्या थियौ। म त्यहीँ उभिरहेको थिएँ तिमीलाइ हेर्दै। तिमीले Bye समेत नभनी , एकपटक नि नहेरी गयौ। मलाइ सारै नै नराम्रो लाग्यो। मन भारी भयो। म एक्लै माइक्रो चढेर घर गएँ। एकदमै रिस उठ्यो त्यो दिन त। कतिदिनसम्म त बोलिन पनि त्यसपछी। मनमा अनेक कुरा खेल्थे। किन तिमी यस्तो व्यवहार गरिरहेकी थियौ? मलाइ त्यसरी इग्नोर गर्दा , वास्ता नगर्दा तिमीलाइ केही प्राप्त हुन्थ्यो र ? कहिले तिमीले सोच्यौ होला र , यस्तो व्यवहार देखाउँदा मलाइ कति चित्त दुख्थ्यो भनेर। सायद कहिल्यै एकपटक पनि सोचेनौ। यस्ता घटना दोहोरिरहन्थे।
एकपटक त मैले तिमीलाइ एक्लै कलेजबाट घर फर्किएको नि देखे। संगै घर जाम्ला भनी सोचेँ तर त्यो दिन तिमीले भन्यौ-"आज मेरो कलङ्की जाने काम छ।" अनि तिमी त्यही दोस्रो रूटको माइक्रो चढेउ । फेरि मलाइ एक्लै पारेर गयौ। यतिमात्र कहाँ होर ? एकदिन हाम्रो साँझसम्म कलेजमा बस्नपर्ने काम थियो। साँझको बेला थियो। अँध्यारो भैसकेको थियो । हामीहरु अरु काम भएका साथीहरु सँगै फर्कदैँ थियौ। तिमी एउटीसँग गफ गर्दै हिँड्दै थियौ। म तिम्रो पछाडि एउटा साथीसँग हिँड्दै थिए। तिमी त्यो साथीसँग यसरी गफमा भुलिएकी थियौ कि अगाडिबाट आउँदै गरेको मान्छे नै देखेको थिइनौ। मैले तिमी ठोक्किन्छौ होला भनेर तिम्रो काँध समातेर देब्रेपट्टि तान्न खोजेँ तर यत्तिकैमा तिमीले करायौ," मलाइ नछोउ है !" म छक्क परे। मैले के तिमी ठोक्किन्छौ होला भनेर त्यसरी तान्नु के गलत थियो र ? तिम्रो त्यो वाक्यले मलाइ त तिमी अपराधीको दृस्टिकोणले हेरिराछौ जस्तो लाग्यो। के हाम्रो मित्रता त्यस्तो तल्लो स्तरको थियो र ? मलाइ सारै दुख लाग्यो।तिम्रो त्यो वचनले मलाइ अत्यन्तै घोच्यो। यत्तिकैमा हामी रत्नपार्कको पूल मुनि पुग्यौँ। सबैजना त्यहाँबाट छुट्टिने वाला थियौँ। अरु साथीहरु कलङ्की जानेवाला थिए। तिमीले भन्यौ-"म नि तिमीहरुसँगै जान्छु।" यति भन्दै तिमी उनीहरुसँगै अर्को रुटको माइक्रो चढ्यौ। मलाइ एक्लै छोडेउ। म सारै नै अचम्ममा परेँ त्यो दिन। तिमी त्यो दोस्रो रुटको माइक्रो चढेर गएको थियौ। तिमीसँगैका सबै साथी कलङ्की ओर्लिने थिए।तिमी त धेरै अगाडि ओर्लिन्थ्यौ। ओर्लेर पनि तिमीले एक्लै हिँडेर घरसम्म पुग्नपर्थ्यो। म ११ मा हुँदा एकपटक तिम्रो घर गएको थिएँ। त्यही दोस्रो रुटको बाटो बाट। त्यो बाटो एक्लै हिँड्नलाइ त कुनै पनि नारीलाइ अफ्ठ्यारो लाग्छ। अझ अँध्यारो बेला त झन त्यो बाटो पुरै असहज छ। तर तिमीलाइ म सँगै पहिलो रुटबाट गएर पिच बाटैबाटो ;जुन बाटो जति नै राती भएपनि उज्यालो हुन्छ। मान्छेहरु ओहोरदोहोर गरिरहन्छन । त्यो बाटो नगएर त्यो अँध्यारो डरलाग्दो असहज हुने बाटो जान तिमीलाइ मन्जुर थियो। के मसँग त्यस्तो अफ्ठ्यारो लाग्थ्यो तिमीलाइ ? के त्यस्तो असहज लाग्थ्यो कि तिमीलाइ अँध्यारो त्यो बाटो हिँड्न सहज थियो? मेरो सारै मन दुख्यो त्यो दिन। के म त्यस्तो असहज अफ्ठ्यारो साथी थिएँ र ? म त तिमीलाइ प्रेम गर्छु नि। तिमीले घरसम्म पुग्न अफ्ठ्यारो लाग्यो भने सहज बनाउने म प्रयास गर्दिन थिएँ होला र ? माया गर्छु नि तिमीलाइ । तिमीलाइ अफ्ठ्यारो पार्ने काम त म गर्दिन नि। तर तिमीले मेरो बिश्वास कहाँ गर्थ्यौ र ? तिम्रा नयाँ साथीहरु बने । म सायद कतैँ बिलाएँ होला। सायद मैले तिमीलाइ जति नजिकको साथी ठान्थे , तिमी मलाइ सिर्फ एउटा औपचारिकता को नाताले बोल्थ्यौ जस्तो लाग्न थाल्यो मलाइ ।
मैले तिमीलाइ कत्तिपटक फेसबूकमा , भाइबरमा भने पनि । किन यस्तो इग्नोर गरेको? तर्की तर्की हिँडेको , मलाइ नराम्रो लाग्छ , चित्त दुख्छ भनेर तर तिम्रो सँधै एउटै जवाफ हुन्थ्यो,"हैन त्यस्तो केही । तिमीलाइ त्यस्तो लागेको मात्र हो।" के साँच्चै मलाइ मात्र त्यस्तो लागेको थियो र ? मैले के Overthink नै गरिरहेको थिएँ र ? या तिम्रो boyfriend ले म बाट टाढा हुनु , नबोल्नु भनेर उर्दी पो जारी गरेको थियो कि ? मनमा अनेक कुराहरु खेल्थे। दुखेको मनमा आखिर धेरै कुराहरु खेल्दा रहेछन। तर मन दुख्न त अझै बाकिँ नै थियो। एउटा घटना घट्न बाँकी नै थियो जसले मलाइ नराम्रोसँग झट्का दिनेवाला थियो। त्यो घटनालाइ त मैले नामाकरण नि गरेको छु। "जमल घटना" भनेर ।

एउटा डान्स प्रोग्राम हुने वाला थियो कलेजमा । त्यो प्रोग्रामको तयारीमा हामी दुबैजना थिइम् । प्रोग्राममा कसले के लगाउने भनेर चर्चा नि भएको थियो।
यस्तैमा मैले उसलाइ भने
"तिमी स्काइ ब्लु कलरको सारी लगाउ न ल।"
"किन लगाउनु म स्काइ ब्लु ? जे छ त्यही लगाउँछु ।"उसले भनी।
"तिमीलाइ स्काइ ब्लु निकै सुहाउँछ के । लगाउन क्या ।" 
"छैन म सँग स्काइ ब्लु ।"
"साथीहरुलाइ सोध न । बा छ कि उनीहरुसँग ।"
"ल ल । म सोधिहेरम्ला।" भन्दै उ निस्किइ।
मलाइ एकदमै ठूलो रहर थियो उसलाइ स्काइ ब्लु कलरको सारीमा प्रत्यक्ष देख्न । मेरो ड्रीम थियो तिमीलाइ स्काइ ब्लु सारीमा देख्नु । स्काइ ब्लु सारीसँग मेरो धेरै भावना जोडिएको थियो। हाम्रो प्रेमको प्रतीक जो थियो स्काइ ब्लु सारी। मेरो अन्तरआत्माले भन्थ्यो कि , "जुन दिन तिमी स्काइ ब्लु कलरको सारी लगाएर मेरो सामुन्ने हुनेछौ नि मेरो प्रेम सफल हुनेछ अनि 'तिमी र म' सदाको लागि "हामी" भनेर जोडिनेछम।" तिमीलाइ स्काइ ब्लु कलरको सारी लगाउनको लागि मनाउन एकदमै जरुरी थियो। साथै स्काइ ब्लु कलरको सारी आफूले समेत खोजी गर्नु थियो। मैले एकदमै तिमीलाइ फकाउने प्रयास गरेँ स्काइ ब्लु सारी लगाउनमा। फेसबुकमा साउथ इन्डियन हिरोइन तमन्नाले स्काइ ब्लु कलरको सारी लगाएको फोटो पठाउँदै तिमीलाइ त यो भन्दा बढी सुहाउँछ भनी मनाउन खोजे। एउटी साथीसँग स्काइ ब्लु कलरको सारी त रैछ। ठ्याक्कै मैले सपनामा तिमीले लगाए जस्तो त थिएन । त्यो सारी लगाउन अफ्ठ्यारो छ भनेर चैँ भन्थी । मैले त्यो सारीको फोटो तिमीलाइ पठाए पनि तर तिमीले त्यस्तो रुचि देखाइनौ। प्रोग्रामको दिन थियो। हामी सबै अगाडि नै कलेज पुगेका थियौँ। म अरु साथीहरुसँग बसेर गफिँदै थिएँ कि यत्तिकैमा एउटी साथी आएर मलाइ भनी," ओए! तिमीलाइ थाह छ ? आज रुबिना कत्ती राम्री पो देख्या छ त ।" मैले मनमनै सोचेँ ," कतै साँच्चै तिमीले स्काइ ब्लु सारी त लगाएर त आइनौ। म अत्यन्तै प्रफुल्लित थिए त्यो सोचले नै।"झट्ट तिमीलाइ हेरेँ । स्काइ ब्लु सारी त थिएन तर पनि तिमी सारै बिछट्टै राम्री देख्या थियौ।                            
खुला छोडेको तिम्रो कपाल, ती चम्किला आँखा , रातो लिपिस्टिक लगाएको ओठ, त्यो ओठमाथी दाहिनेपट्टि कालो कोठी, कानका ती ३ वटा Layer भएको झुम्का , कालो फुल स्लीभ ब्लाउज अनि त्यसको बोर्डरमा भएको गोल्ड लाइनिङ, सेतो सारी बिचबिचमा गुलाबको फुल अनि बोर्डरमा गोल्डेन अनि रातो बुट्टा , अनि कम्मरमा सिक्री जस्तै केही बाँधेकी । सारै नै  क्यूट देखिएकी थियौ तिमी। तिमीलाइ देख्दा म कत्ती चैँ रमाएको थिएँ नि। झ्याप्प अँगालो हालौँ जस्तो लाग्यो तर आँट आएन। सिर्फ यतिमात्र भनेँ "राम्री देखिएको छ तिमीलाइ।" प्रोग्रामभरी नि त्यही ईतिहास दोहोरियो। म बोल्न खोज्थे, जिस्काउन खोज्थे, चिढाउँथे र तिमी सँधैको जस्तो वेवास्ता गर्थ्यौ, इग्नोर गर्थ्यौ। त्यो दिन हामीले फोटो समेत खिँच्यौ। हुन त अगाडिका प्रोग्राममा नि खिचथिम।मलाइ एकदम रहर लाग्थ्यो तिमीसँग फोटो खिच्न,सँगै रहन तर तिमी मान्दैनथियौ फोटो खिच्न। तिमीसँगका फोटो हेर्दाखेरी बाध्य भएर जबर्जस्ती खिचेजस्तै एक्स्प्रेसन छ तिम्रो। सबैसँग फोटो खिच्दा एकदमै खुसी भएर प्रफुल्लित मुद्रामा तिमी आफ्नो दिव्य हाँसो सहित खिच्थ्यौ तर जब मेरो पालो आउँथ्यो , ठुसुक्क पर्थ्यौ , रमाउँदैन थियौ । दिक्क मानेर बाध्यताले औपचारिकताको लागि खिचेजस्तो गर्थ्यौ। त्यसैले त हो नि अहिलेसम्म सिर्फ मसँग खिचेको फोटो हेर । तिमी हाँसेकै छैनौ। 
प्रोग्राम सकियो । हामी कलेजबाट फर्कदैँ थिइम। बिगतमा कहिल्यै मसँगै एउटै माइक्रोमा घर नगएता पनि , तिरस्कार गरे पनि त्यो दिन त तिमी र म अवश्य सँगै जानेछम भन्नेमा म ढुक्क थिएँ । हामी रत्नपार्कको पूलमुनी थियौँ । यत्तिकैमा तिमीले भन्यौ-"मेरो जमल जाने काम छ। म यता जान्छु।" भाग्यले आजपनी मलाई ठग्यो। भन्न मन लाग्याथ्यो ,"म नि जमल जान्छु नि त ! अनि सँगै फर्कमला।" तर तिमीसँगै एउटी बहिनी थियो। मलाइ फेरि तिमीसँग अर्को कोही मान्छे भएपछि धेरै कुराहरु भन्न अफ्ट्यारो लाग्छ। त्यसैले भनिन केही। मन नलागी नलागी हुन्छ भनेँ । पक्कै नै जमलमा केही महत्वपूर्ण काम होला जस्तो लाग्यो। म भृकुटीमण्डप अगाडि आएर माइक्रो चढेँ। खिन्न थिएँ आज तिम्रो काम परेर सँगै जानै पाइएन भएन। तर वास्तविकता अर्कै थियो। म माइक्रो चढेँ सँधैजस्तो त्यही लगनखेल जाने। जावलाखेल ओर्लेर जान्थे म। म माइक्रोको सबसे अगाडिको सिटमा थिएँ।  माइक्रो सिंहदरबार कट्यो , माइतीघर कट्यो तर जब बागमतिको पूल कट्यो नि तब मैले एउटा अचम्मको दृश्य देख्न पुगे। म माइक्रो को अगाडिको सिटमा छु ड्राइभरसँगै र म के देख्छु भने तिमी जेब्रा-क्रसिङबाट बाटो काट्दै थियौ । तिमीले बाटो काट्नलाइ मै चढेको माइक्रोले जेब्रा-क्रसिङ अगाडि रोकेको थियो। जमल काम छ भनेर हिँडेको मान्छे म भन्दा अगाडि ओर्लिने स्टपमा पुगेकी थिइ । बाटो काटेर घर जाँदै थिइ। म तीन छक्क परेँ । जमल जाने काम छ भनेर त तिमीले मलाइ ढाँटेकी रहेछौ नि। जमल जाने काम छ भनेर तिमी त्यहीँ रत्नपार्कको पूलमुनीबाट लगनखेल रुटको माइक्रो चढेकी रहेछौ । त्यही रुटको माइक्रो जुन रुटबाट म सँधै घर जान्थे। त्यही बाटो जानू थियो भने मसँगै जाँदा के हुन्थ्यो र ? म के त्यति लायकको नि साथी छैन र जो तिमीसँग एउटै माइक्रो चढेर सँगै यात्रा गर्न सकुँ? मैले आफूले आफुलाइ तिम्रो नजरमा धेरै धेरै तल रहेको महसुस गरेँ। मेरो गहभरी आँसु थियो। 
जो ब्यक्तिलाई म आफ्नो प्राणझैँ प्रेम गर्छु त्यही ब्यक्ती मलाइ यति घृणा र तिरस्कार गर्छ कि म सँगै एउटै गाडिमा ५ मिनेटको यात्रा समेत गर्न चाहँदैन । यति घृणा कि मबाट टाढिन र पर पर हुन मात्र खोज्ने। के म त्यस्तो खराब थिएँ र ? जो सँग म जीवनसाथीको सपना सँगालिरहेको थिएँ उसैको नजरमा त म कत्ती पनि लायक रहेनछु नि! मलाइ आफैदेखी घृणा जागेर आयो। त्यो रात म एकदम रोएँ पनि। तिमी मलाइ यत्तिसम्म घृणा गर्छौ भन्ने जानेर मेरो मन छिया छिया भयो। मैले आफूले आफुलाइ थाम्नै सकिरहेको थिइन। मलाई त्यो रात धेरै कुरा सम्झनामा आयो।तिमी र म पहिलोपटक बोलेको , हाँसेको , बाझेको सबै । तिमी बदलिएको थियौ या म ? उत्तर थिएन। मलाइ लाग्यो कि पक्कैपनी तिमीले मेरो मनको भावना चाल पाएकी थियौ होला। त्यसैले यो सारा घृणा र तिरस्कार देखाएर तिमी त्यो प्रेमलाइ मार्न खोजिरहेको जस्तो लाग्यो तर सायद तिमीले एउटा कुरा बिर्सियौ कि मैले तिमीसँग प्रेम गर्छु ,पट्टयाउँछु भन्ने हिसाबले कहिल्यै प्रेम गरेको थिइन। तिमीप्रती नि प्रेम मलाइ कुनै दिन हुनेछ भनेर त मैले ७ जन्मम नि कल्पना गर्ने कुरो थिएन। जो सँग म सबैभन्दा बढी झगडा गर्थे, बाझ्थे उसैलाइ अत्यन्तै प्रेम गर्न पुगेँ तर अप्रत्याशित ढङ्गले प्रेम भयो त म के गर्नु? तिम्रो रुप रङ्ग हेरेर , यस्लाइ पट्टयाउँछु भन्ने हिसाबले मैले तिमीलाइ माया गरेको थिइन रुबिना। Unconditional थियो। कहाँ ?कसरी ?किन? मलाइ केही थाहा छैन। जब बोध गरेँ तब थाहा पाए कि मैले मेरो जीवनमा तिमीलाइ जति माया कसैलाइ गरेको छैन। यो अलग कुरा हो कि तिमी अर्कैलाइ अथाह प्रेम गर्दी रहेछौ। उसले पनि तिमीलाइ एकदमै माया गर्दो रहेछ,सायद म भन्दा नि धेरै-धेरै बढी। तर यी सब कुरा मैले अलिक पछी थाहा पाउनेवाला थिएँ। समयले यो जुन चोट दिएको थियो , यो त सिर्फ ट्रेलर थियो। असली कहानी त अझै बाँकी नै थियो…………
क्रमशः

Comments

Popular posts from this blog

Sprite देखि Spirit सम्म (PART 1)

नलेखिएको कथा: भाग २