ह्यापी बर्थडे

हरेक दिन बिहान घाम झुल्किन्छ ; एक नयाँ उर्जा , नयाँ उत्साह , नयाँ प्रेरणाको संचार गर्दै। आज तिम्रो जन्मदिन । मेरो जीवनको सबैभन्दा प्यारो मान्छेको जन्मदिन। कसरी भुल्न सक्थे र यो दिन ? सधैँ एघार बजे सम्ममा निद्रादेवीको काखमा त्वम् शरणम् भैसक्ने म आज भने जागा नै थिएँ तिमीलाइ शुभकामना दिन । तिमीलाइ प्रेम गर्ने अधिकार जो सँग थियो उसैको पहिलो शुभकामनाको पर्खाइमा बसेकी थियौ होली । त्यसैले मलाइ ठीक १२ बजे शुभकामना दिने हिम्मत आएन । १२ बजेर १ मिनेट गएसी पठाए । लामै थियो शुभकामना त । सायद तिमीबाट केवल दुई शब्द मात्र पाउने हैसियतको रहेछु म । पाएँ दुई शब्द "Thank you"
मैले तिमीलाइ आफ्नो प्रेम भावना पोखे पश्चात् हाम्रो बोलचाल नै बन्द भएको थियो । मेरो प्रेम भावनालाइ स्वीकार गर्नेछौ भन्ने आशा त पक्कै थिएन तर यति सारो तिरस्कार गर्नेछौ भन्ने त ढुक्कै थिएन। सायद एउटा औपचारिकताको बुँनियादमा हाम्रो सम्बन्ध टिकेको थियो कि ? तिमीले कलेजमै हुँदा कत्ती इग्नोर तिरस्कार गर्थ्यौ । मैले सायद त्यतिबेलै बुझ्नपर्थ्यो क्यारे । भौगोलिक रुपमा टाढिएका त पछी हौँ। तर मनबाट त तिमीले त्यो बेलै टाढा बनाएकी थियौ। मैले बुझ्न गल्ती गरेँ। टन्टलापुर घाममा हिँडिरहेकी तिमीलाइ म मेरो प्रेमको दियो बोकी उज्यालो दिने प्रयास गरिरहेँ। म साँच्चै मूर्ख थिएँ ।
म विज्ञानको बिध्यार्थी । बिज्ञानले गरेका थुप्रै खोजहरुको अध्ययन गर्दछु। बिज्ञानले छाद रोक्ने औषधी त बनाएछ तर याद रोक्ने औषधी भने अझै पत्ता लगाउन सकेको रहेनछ। सायद बनाउँदो हुँदो हो त म त्यसको नियमित सेवक नै बन्नेथिएँ। तिम्रा यादहरु सँगालेर मनभरी राखेको छु। तिमीलाइ त के याद होला र? थाहा छ मैले १२ क्लासमा हुँदाखेरी एउटा वचन दिएको थिएँ " जीवनमा जति नै ब्यस्त बनियोस या जति नै हामीबीच नोकझोंक होस् म तिम्रो बर्थ्डेमा भने अवश्य Wish गर्नेछु।"तिमीलाई त पक्कै यी सब कुरा केटाकेटी खाल्के बकवास लाग्दो हो । तर यस्ता स-साना कुराहरुले नि मेरा लागि निक्कै महत्त्व बोकेका छन।

नेपाली समाजमा जसरी तल्लो जात भन्दै केही जातिलाई चित्रण गरिन्छ त्यसरी नै हो मित्रताको समाजमा "बेस्ट-फ्रेन्ड" भनेको चैँ तल्लो जातको फ्रेन्ड भन्दा रहेछन। म पनि तिम्रो एक "बेस्ट-फ्रेन्ड" थिएँ। जसरी तल्लो जातीलाइ पानी-पधेँरामा जान बन्देज लगाइन्थ्यो। त्यसरी नै तिम्रो जीवनका पानी-पधेँरामा जान म वर्जित थिएँ।हाम्रो त चिनजान पनि राम्रो रहेनछ क्यार । यदि सायद रत्तिभर पनि कहीँ कतै अलिकती ख्याल वा माया हुँदो हो त यति नमज्जाले मन टुट्ने थिएन मेरो। थाहा छ मैले ११ क्लासमा हुँदाखेरी तिमीलाइ एउटा टेक्स्ट गरेको थिएँ " यदि कुनै दिन मैले तिमीलाइ प्रपोज गरे भने के गर्छौ ?" याद छ त्यतिबेलाको तिम्रो जवाफ के थियो ? " तिमीलाइ कान समातेर आफ्नो अगाडि उभ्याउथेँ, मज्जाले सम्झाउँथे अनि सरी भन्न लगाएर पठाउँथे।" जब यी कुराहरु म सम्झिन्छु नि म साँच्चै रुने गर्दछु। आखिर केही पनि आत्मीयता थिएन भने देखायौ किन ? तिम्रो एक शब्द , एक टेक्स्ट, एक कल यी सबै कुराहरुको लागि म तड्पिएको छु। तिमीले यी सबै कुराहरु थाहा पाएकी थियौ पहिल्यै । अझ स्पष्ट पार्न मैले गीताबाट समेत यी कुरा तिमीसँग राखेको थिएँ। तर तिमीले वास्तै गरिनौ। म त हावा, गफाडी ठानेर हावामै कुरा उडाइदियौ। एकपटक नि सोचेनौ म माथी यी कुराहरुले के प्रभाव पारिरहेछ भनेर । के त्यत्रो १२-१३ वर्षदेखिको साथीलाइ एक वचन सोध्न सक्दिन थियौ होला र ? म त हावा मान्छे ठानी तिमीले यो कुरालाइ कहिल्यै गम्भीरताले लिएनौ। हुन पनि म मा के नै थियो र ? के देखेर चैँ प्रेम गर्थ्यौ र ? केही थिएन। भित्र कस्तो थिएँ कहिल्यै बुझ्न चाहिनौ। एक हावा गफाडी यही तिम्रो चित्रण थियो। आज यी कुरा सम्झँदा लाग्छ सायद चक्रपाणी चालिसेको कविता मैले सानैमा मनन गर्न सकेको भए ?
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी।
के भन्नुपर्छ र ? तिमी यति शान्त ज्ञानी।।
हँस्सी बनाउँछ सँधै हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज।।"
साँच्चै अचम्मको छ हाम्रो सम्बन्ध पनि । मलाइ तिमी नबोलेको मन पर्दैन।तिमीलाइ म बोलेको मनपर्दैन।मैले हरेक पटक कल गर्दा मेसेज गर्दा तिमी ब्यस्त हुन्छौ। कहिल्यै बोल्न चाहिनौ तिमीले । मै थिएँ पागल जो कत्तिखेर तिमी अनलाइन आउनेछौ भनी कुरेर बस्दथेँ। चाणक्यले भनेका थिए " राजाको साथी राजा नै हुन्छ। दरबानको साथी दरबान नै ।" कहाँ तिमी जस्तो ब्यक्तित्व? कहाँ म ? तिम्रो ब्यक्तित्वको हैसियतको मेरो ब्याक्तित्व थिएन। तिमीले त मलाइ सँधैभरी तिरस्कार गरिरहयौ। मै थिएँ हरेक पटक नजरअन्दाज गर्दै माया गरिरहने। यार म साँच्चै रोएको छु , धेरैपटक तिम्रा यी स-साना तिरस्कारहरुले। आखिर त्यति नै घृणा गर्छौ भने आफैँ मलाइ तिमी जाउ किन भन्दिनौ ? तिम्रो महिनौँको तिरस्कार पनि म तिम्रो एक "Hi" लेखेको मेसेजले बिर्सन्छु। थाहा छ जब मैले यसरी ब्लगमा आफ्नो भावना आफैँ ब्यक्त गरेको थिएँ नि मेरो केही आशाहरु थिए। मन टुट्नेछ भन्ने त निश्चित थियो तर पक्कै पनि तिमीले अलिकती भए नि मलम लगाइदिन्थ्यौ भन्ने आशा थियो। के हाम्रो सम्बन्ध यति फितलो थियो कि सिर्फ टेक्स्ट्को भरमा सकिने ? मैले त आशा राखेको थिएँ कि तिमीले मलाइ "अहिलेको लागि यी कुरा छोडिदेउ । अब एक्जाम सकेर घर आउ अनि कतै बसेर यी कुरा गरम्ला। अहिले नै धेरै सोचेर समय बर्बाद नगर।"भन्ने थियौ । म आउने थिएँ। कतै भेटघाट गरिन्थ्यो। म मेरा मनका सबै भावना पोख्ने थिएँ। मेसेजमा लेख्नु र आमुन्ने-सामुन्ने भएर भन्नू मा कत्ती अन्तर हुन्छ भन्ने त तिमीले नबुझेको होइनौ होला तिमीले। म यी सबै कुरा भन्दै गर्दा अवश्य नै रुन्थे। तर तिम्रो अँगालोमा रुन पाए यी थाकेका आँखाहरुले विश्राम पाउने थिए। तिमीले अगाडि रहेर सुनिदिए मात्र नि टुटेको यो मन पक्कै सम्हालिने थियो।
तिमी अरु कसैलाइ नै प्रेम गर्दछौ। केही छैन। मैले प्रेम गरेँ । के प्रेम गर्नु गलत हो? अपराध हो? स्वतस्फूर्त भयो। तिमी र म त कत्ती नजिक थिइम त यार । त्यत्रो नजिकको साथी भएर पनि मैले तिम्रो सामुन्ने रहेर यी सबै कुरा भन्ने मौका नै दिएनौ तिमीले। टेक्स्ट्मा भनेँ । त्यहीँ अन्त्य गरिदियौ तिमीले। आफ्नो त्यस्तो मिल्ने माया गर्ने साथीले त आमु-सामु रही बोल्ने मौका त दिइन भने जीवनमा भर्खर चिनिएका मानिसहरुबाट के आशा राख्नु र ? सबै स्वार्थी। मैले पनि त भन्न सक्थे भन्ने लाग्या होला तिमीलाइ तर यार म सक्दिनथेँ। तिमीले कति सजिलै यी भावनाका कुराहरुलाइ पन्छाइदियौ । मैले चुट्किला सुनाएझैँ।तिमीले पक्कै पनि बोल्न बोलाउने थियौ लाग्थ्यो। तिमीले केवल सामुन्ने रहेर सुनिदिएको भए मात्र पनि मेरो लागि निकै ठूलो कुरा हुन्थ्यो। मैले यी सबै कुराहरु मनमा दबाएर २ महिना कसरी घरमा रहेँ? कसरी कतै पोखिन दिइन।यो त मलाइ मात्रै थाहा छ। काठमाडौ फर्किकन पनि उहीँ छ। तिमी आउँदैनौ। तिम्रो सामु रही यी सब कुराहरु भन्ने त सपनामा पनि सम्भव छैन। साच्चै पोल्छ यार यी सब कुराहरुले। आँखा थामिदैनन् । तिमी आफ्नै दुनियाँमा मग्न छौ। कहाँ तिमी आकाश अनि कहाँ म जमिन? ठूलो अन्तर छ , फाटो छ। सायद यो मनको फाटो कहिल्यै सिलिने छैन होला। कति टाढिएका छौँ हामी। तिमीलाइ त म जस्ता कयौँले प्रपोज गरेका होलान् । ती मध्येकै त बेस्टलाई छानेकी होलिउ। म कता कुन कुनामा थन्किएको छु। केही थाहा छैन होला तिमीलाइ त। तिमीले त म भन्दापनी कयौँ गुना बढी माया गर्ने पाउनेछौ तर मैले भने तिमीलाइ जसरी कहिल्यै कसैलाइ माया गर्न सक्नेछैन। प्रेममा कती पीडा हुँदोरहेछ भन्ने कुरा बल्ल बुझ्दैछु। "हार्ट-ब्रेक"यत्ती धेरै पीडादायी हुनेछ भन्ने लागेको थिएन। आँसु पनि अनायासै सम्झना गर्दै खस्दो रहेछ भन्ने थाहा थिएन। मैले नि तिमीलाइ किन यी सबै कुराहरु सुनाइरहेको होला? तिम्रो आफ्नै जीवन छ। तिमीले अर्कैलाइ माया गर्छौ। अर्कोले नि अत्याधिक माया गर्छ। मेरो यहाँ कुनै अस्तित्व नै छैन। तिमीसँग बोल्दा पनि मन दुख्छ नबोल्दा पनि। बोल्दा तिम्रो जवाफले नबोल्दा तिम्रो अभावले । तर यो दुखेको मनले तिम्रो सँधै राम्रो मात्र चाहन्छ है। तिम्रो बारेमा म सँधै राम्रो नै सोच्छु र सदैव राम्रो नै सोचिरहनेछु। तिम्रो लागि मेरो मनमा कुनै पाप छैन। राम्रो पढ। राम्रो करियर बनाउ । जसलाइ माया गर्छौ उसले साथ कहिल्यै नछोडोस। माया गर्ने , साथ दिने मानिसहरुको कहिल्यै कमी महसुस नहोस। आफ्नो लक्ष्यमा अघि बढ। मैले अरु केही त गर्न सक्दिन तर तिम्रो लागि सँधै राम्रो होओस भनी सधैँ प्रार्थना गर्नेछु। तिम्रो हरेक पाइला सफलताको शिखर चुमुन। Wish You Happy Birthday !!! Happy Birthday...


Comments

Popular posts from this blog

Sprite देखि Spirit सम्म (PART 1)

नलेखिएको कथा: भाग २